२०८३ श्रावण ४ गते, सोमबार
२०८३ श्रावण ४ गते, सोमबार

महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन भद्रपुर–६ को पहल, च्याउ खेती तालिम सम्पन्न, ५० प्रतिशत लागत साझेदारीमा सिलाई मेसिन वितरण

भद्रपुर, असार १७। महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–६ वडा कार्यालयले सञ्चालन गरेको तीनदिने च्याउ खेती सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै ५० प्रतिशत लागत साझेदारीमा महिला उद्यमीहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ।

भद्रपुर नगरपालिका–६ वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष रतिया राजवंशीले गरेका थिए।

असार १२ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको तीनदिने स्थलगत च्याउ खेती सम्बन्धी सीप विकास तालिममा सहभागी महिलाहरूलाई व्यावसायिक च्याउ उत्पादन, व्यवस्थापन, बजारीकरण तथा उद्यम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन आग्रह गरिएको थियो।

यसै अवसरमा महिला उद्यमीहरूको आर्थिक सशक्तीकरणलाई थप टेवा पुर्‍याउने उद्देश्यले लागत साझेदारीको अवधारणाअनुसार सिलाई मेसिन वितरण गरिएको थियो। प्रत्येक सिलाई मेसिनको लागत रु. १४ हजार १२ निर्धारण गरिएकोमा लाभग्राहीले ५० प्रतिशत लागत स्वयं व्यहोरेका छन् भने बाँकी ५० प्रतिशत रकम भद्रपुर नगरपालिका–६ वडा कार्यालयले व्यहोरेको हो। स्थानीय सरकारको यस्तो लागत साझेदारी कार्यक्रमले लाभग्राहीमा स्वामित्वको भावना विकास गर्नुका साथै प्राप्त सामग्रीको प्रभावकारी उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारले नागरिकलाई केवल अनुदान वितरण गर्ने होइन, सीप, उत्पादन र उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले महिलाको आर्थिक सशक्तीकरण, घरेलु उद्यमको विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष रतिया राजवंशीले महिलाको क्षमता विकाससँगै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले वडा कार्यालयले सीपमूलक तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए। तालिमबाट हासिल गरेको ज्ञान र वितरण गरिएका सिलाई मेसिनको सदुपयोग गर्दै आत्मनिर्भर उद्यमीका रूपमा स्थापित हुन सहभागी महिलाहरूलाई उनले आग्रह गरे।

च्याउ खेती सम्बन्धी तालिमका लागि लर्ड बुद्ध प्रोफेसनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउनुका साथै घरेलु उद्यम विस्तार, पारिवारिक आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।