बिर्तामोड, असार १३। विशेष प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहीन संघको २८औँ स्थापना दिवसको अवसरमा झापा नेत्रहीन संघद्वारा आयोजित कोशी प्रदेशस्तरीय दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको खुल्ला गायन प्रतियोगिता तथा तीन महिने संगीत तालिम समापन कार्यक्रम शनिबार बिर्तामोडस्थित झापा नेत्रहीन संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

“प्रतिभाको सम्मान, समान अवसरको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा, कला, आत्मविश्वास र सिर्जनशीलतालाई समाजमाझ उजागर गर्दै समान अवसर र समावेशी समाज निर्माणको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतियोगी, सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शुभेच्छुक तथा दृष्टिविहीन समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोशी प्रदेश सरकारका पूर्वमन्त्री माननीय एकराज कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा सम्मानजनक सहभागिता सुनिश्चित गर्न राज्य, स्थानीय तह, निजी क्षेत्र तथा समुदायबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले प्रतिभा पहिचान गर्नुका साथै आत्मविश्वास अभिवृद्धि र सामाजिक समावेशीकरणलाई समेत टेवा पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा झापा नेत्रहीन संघद्वारा सञ्चालन गरिएको तीन महिने संगीत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगितामा सहभागीहरूले नेपाली आधुनिक, लोक तथा भावप्रधान गीतमार्फत आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन यशोदा साख्या र हेमन्त रिजालले गरेका थिए।
प्रतियोगितामा शम्भु राजवंशी प्रथम, समीर अधिकारी द्वितीय, सुजिता राई तृतीय तथा पवित्रा तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भए। विजयी प्रतियोगीहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा भद्रपुर निवासी समाजसेवी तथा बौद्धिक व्यक्तित्व शिवकुमार भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा र क्षमतालाई समाजले सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले यस्ता सिर्जनात्मक तथा समावेशी कार्यक्रमले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच विस्तार गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई सबै क्षेत्रबाट निरन्तर साथ, सहयोग र प्रोत्साहन आवश्यक रहने धारणा व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग प्रदान गरेका थिए। सहयोगदातामध्ये डा. केशवराज न्यौपाने (एमडी) ले सबैभन्दा बढी रु. ११ हजार ५०० सहयोग प्रदान गरेका थिए। त्यसैगरी स्पेस लाइन प्रालिले रु. ५ हजार, आईटी सोलुसन बिर्तामोडले रु. ५ हजार, गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख रूपक खनालले रु. ३ हजार, **नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.**ले रु. २ हजार ५००, भद्रपुर निवासी समाजसेवी तथा बौद्धिक व्यक्तित्व शिवकुमार भण्डारीले रु. २ हजार १०० तथा लक्ष्मण बरालले रु. १ हजार ५ आर्थिक सहयोग प्रदान गरेका थिए। आयोजकले सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, प्रतिभा प्रवर्द्धन तथा संस्थाका सामाजिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
कार्यक्रमका अध्यक्ष होमनाथ राजवंशीले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा अवसरको अभावमा ओझेलमा पर्न नहुने उल्लेख गर्दै झापा नेत्रहीन संघले आगामी दिनमा पनि संगीत, सीप विकास, नेतृत्व विकास, आत्मनिर्भरता अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, निर्णायक, सहयोगदाता, प्रतियोगी, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे।
हेलेन केलरको प्रेरणादायी जीवनदर्शनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई उजागर गर्नुका साथै समान अवसर, सम्मान, आत्मनिर्भरता र समावेशी समाज निर्माणप्रति सामूहिक प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकको विश्वास रहेको छ।









