
भद्रपुर, झापा। झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको किचकबध क्षेत्रको नवौं चरणको उत्खनन् सम्पन्न भएको छ। पुरातत्वविद् उद्धव आचार्यसहित पुरातत्व विभागको टोलीले यस चरणअन्तर्गत भेटिएको संरचनाको उत्खनन् तथा संरक्षण कार्य पूरा गरेसँगै नवौं चरणको उत्खनन् सम्पन्न भएको हो।
वि.सं. २०५८ सालदेखि परीक्षण उत्खनन् सुरु गरिएको किचकबध क्षेत्रमा विविध कारणले बीच–बीचमा काम रोकिँदै आएको थियो। लामो समयदेखि क्रमिक रूपमा हुँदै आएको उत्खनन्का बाबजुद हालसम्म किचकबध क्षेत्रको करिब ३० प्रतिशत मात्रै उत्खनन् सम्पन्न भएको पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो।
भद्रपुर नगरपालिकाले उत्खननस्थलमै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुरातत्वविद् आचार्यले किचकबध क्षेत्र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म उत्खनन् गरिएका संरचना र प्राप्त सामग्रीले यो स्थल प्राचीन सभ्यता, संस्कृति र इतिहाससँग प्रत्यक्ष जोडिएको देखाउँछ।
आचार्यका अनुसार हालसम्म उत्खनन्बाट प्राप्त पुरातात्विक सामग्रीको बेलायतस्थित बुर्हान विश्वविद्यालयको प्रयोगशालामा गरिएको परीक्षणबाट किचकबध क्षेत्र इसापूर्व पहिलो शताब्दीको भएको तथ्य प्राप्त भएको छ। उहाँले अहिलेसम्म उत्खनन् गरिएका भागभन्दा बाँकी रहेका क्षेत्र अझै पुराना हुन सक्ने सम्भावना रहेको समेत बताउनुभयो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन किचकबध संरक्षण समितिका सचिव ब्रह्मलाल कोइरालाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।
पत्रकार सम्मेलनमा पुरातत्वविद् आचार्यले हालसम्म भेटिएका संरचना र पुरातात्विक सामग्रीका आधारमा किचकबध क्षेत्र भारतको शुंग–कुषाणकालीन समयसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँका अनुसार मोरङको भेडियारी क्षेत्र र किचकबधको समयकाल मिल्दोजुल्दो देखिएको छ। किचकबधको दोस्रो तहको संरचनाबाट भने यस क्षेत्रको इतिहास अझ पुरानो हुन सक्ने आधार भेटिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमको सहजीकरण गर्दै इतिहासविद् तथा पत्रकार चिन्तामणि दाहालले किचकबध केवल स्थानीय धार्मिक स्थल मात्र नभई नेपालकै महत्वपूर्ण राष्ट्रिय सम्पदा भएको बताउनुभयो। उहाँले यसको वैज्ञानिक उत्खनन्, संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
दाहालले किचकबधको सम्पूर्ण उत्खनन् कार्य पूरा गर्न पुरातत्व विभागको मात्र भर पर्न नहुने बताउनुभयो। उहाँले भद्रपुर नगरपालिका र कोशी प्रदेश सरकारले उत्खनन् तथा संरक्षणका लागि छुट्टै बजेट विनियोजन गरी कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँका अनुसार किचकबधको पूर्ण उत्खनन् र व्यवस्थित संरक्षण हुन सके यसले भद्रपुरको ऐतिहासिक पहिचानलाई थप मजबुत बनाउनेछ। साथै, धार्मिक तथा पुरातात्विक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउन सकिने उहाँको भनाइ थियो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले किचकबध क्षेत्रको उत्खनन् र संरक्षणका लागि कोशी प्रदेश सरकारसँग बजेट माग गरिएको जानकारी दिनुभयो। उहाँले नगरपालिकाले पनि आवश्यक बजेट व्यवस्थापन गरी किचकबधको उत्खनन्, संरक्षण र प्रवर्द्धनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरप्रमुख पोखरेलले किचकबध भद्रपुरको मात्र नभई झापा जिल्ला र कोशी प्रदेशकै गौरवको सम्पदा भएको बताउनुभयो। उहाँले यसको संरक्षण, प्रचारप्रसार र पर्यटकीय विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, संरक्षण समिति र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
पत्रकार सम्मेलनमा विभिन्न पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम तथा स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। किचकबधको नवौं चरणको उत्खनन् सम्पन्न भएसँगै बाँकी क्षेत्रमा वैज्ञानिक उत्खनन्, संरक्षण, अध्ययन–अनुसन्धान र पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको किचकबध क्षेत्रको पूर्ण उत्खनन् र संरक्षण हुन सके भद्रपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ।
भद्रपुर, झापा। झापाको भद्रपुरमा आयोजित ‘शुद्ध नृत्य युद्ध – द प्युरेस्ट डान्स शो डाउन’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। नृत्यलय स्कुल अफ डान्स भद्रपुरको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधि भद्रपुरकी ओमालिसा मेचेले जितेकी छन्।
भद्रपुर–१, सोमबारेस्थित ग्यालेक्सी पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालेमा बिर्तामोडकी सरस्ता राउत फस्ट रनरअप र हल्दिबारीकी सन्दिपा नेम्बाङ सेकेन्ड रनरअप घोषित भएका छन्। विद्यार्थीभित्र लुकेर रहेका नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट १० फाइनलिस्टबीच प्रतिस्पर्धा भएको थियो।
कार्यक्रम भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष राम कँडेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, विद्यार्थी, नृत्यप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नृत्यलय स्कुल अफ डान्स भद्रपुरका फाउन्डर सक्षम तामाङका अनुसार मोफसलमा लुकेर रहेका नृत्य प्रतिभालाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जुनियर तहदेखि एसइईसम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताका लागि गत जेठ ८ गतेदेखि अडिसन प्रक्रिया सुरु गरिएको थियो। बनियानी, भद्रपुर, चन्द्रगढी, गोलधाप र बिर्तामोडमा सम्पन्न अडिसनबाट ७० जना प्रतिस्पर्धी छनोट भएका थिए। दोस्रो चरणमा तीमध्ये ३३ जना प्रतिस्पर्धी छनोट भई जेठ १६ गते सम्पन्न सेमिफाइनलबाट उत्कृष्ट १० फाइनलिस्ट ग्राण्ड फिनालेका लागि छानिएका थिए।
ग्राण्ड फिनालेमा ओमालिसा मेचे, सलिन मगर, खुसाङ तामाङ, सन्दिपा नेम्बाङ, सरस्ता राउत, दृशा रिजाल, अर्पण घिमिरे, सेमिहाङ्मा लिम्बू, सुजाता भट्टराई र रुस्ना कान्दाङ्वाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो। विभिन्न शैलीका आकर्षक नृत्य प्रस्तुति र निर्णायकहरूको विशेष मूल्याङ्कनका आधारमा अन्तिम नतिजा घोषणा गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता ओमालिसा मेचेले नगद १५ हजार रुपैयाँसहित ट्रफी र नृत्यलय स्कुल अफ डान्समा १ वर्षको निःशुल्क नृत्य प्रशिक्षण छात्रवृत्ति प्राप्त गरेकी छन्। उक्त पुरस्कार कार्किज केकका तर्फबाट विकास थापाले प्रायोजन गरेका थिए।
त्यसैगरी, फस्ट रनरअप सरस्ता राउतले नगद १० हजार रुपैयाँसहित ट्रफी र ६ महिनाको निःशुल्क नृत्य प्रशिक्षण छात्रवृत्ति प्राप्त गरेकी छन्। उक्त पुरस्कार ज्ञान सरोवर निकेतन स्कुलका प्रिन्सिपल कृष्णराज पौडेलले प्रायोजन गरेका थिए।
सेकेन्ड रनरअप सन्दिपा नेम्बाङले नगद ५ हजार रुपैयाँसहित ट्रफी र ६ महिनाको निःशुल्क नृत्य प्रशिक्षण छात्रवृत्ति प्राप्त गरेकी छन्। उक्त पुरस्कार आरटी इभेन्ट म्यानेजमेन्टका रोहन तामाङले प्रायोजन गरेका थिए।
त्यस्तै, ओरियन मार्ट सगरमाथाका राजेन्द्र पोखरेलले प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि गिफ्ट ह्याम्पर उपलब्ध गराएका थिए। विजेता तीन जनाबाहेक ग्राण्ड फिनालेमा पुगेका बाँकी टप ७ फाइनलिस्टहरूलाई पनि ट्रफी, मेडल, गिफ्ट ह्याम्पर, प्रमाणपत्र तथा नृत्यलय स्कुल अफ डान्समा ३ महिनाको निःशुल्क नृत्य प्रशिक्षण छात्रवृत्ति प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन होलील्याण्ड इङ्लिस स्कुलकी प्रिन्सिपल ललिता राई र ग्रीनफिल्ड इङ्लिस स्कुलका प्रिन्सिपल सन्देश राईले समेत महत्वपूर्ण सहयोग गर्नुभएको आयोजकले जनाएको छ।
यसैबीच, समाजसेवी तथा बौद्धिक व्यक्तित्व आदरणीय शिवकुमार राजभण्डारीले प्रतियोगिताका लागि प्रायोजन जुटाउन विशेष भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राजभण्डारीले स्थानीय स्तरमा रहेका प्रतिभालाई खोजी, प्रोत्साहन र सम्मान गर्न यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता सिर्जनात्मक अभियानले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र कलात्मक क्षमता विकास गर्न टेवा पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन कृति राई ‘कला’ले गर्नुभएको थियो। उहाँको आकर्षक प्रस्तुति र संयोजनले कार्यक्रमलाई थप प्रभावकारी र रोचक बनाएको उपस्थित सहभागीहरूले बताएका थिए।
नृत्यलय स्कुल अफ डान्सकी डाइरेक्टर सुस्मिता राईका अनुसार प्रतियोगिताको मूल्याङ्कन निष्पक्ष, पारदर्शी र गुणस्तरीय बनाउन अनुभवी निर्णायकहरूको व्यवस्था गरिएको थियो। उहाँले नृत्य क्षेत्रमा शुद्धता, निष्पक्षता र वास्तविक प्रतिभाको सम्मान गर्नु आजको आवश्यकता भएको बताउँदै “राम्रोलाई होइन, हाम्रोलाई जिताउने” प्रवृत्तिको अन्त्य गर्दै योग्य प्रतिभालाई सम्मानित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले नृत्य, संगीत तथा अन्य सिर्जनात्मक क्षेत्रमा युवापुस्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।
स्थानीय स्तरका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यसहित आयोजना गरिएको ‘शुद्ध नृत्य युद्ध – द प्युरेस्ट डान्स शो डाउन’ को ग्राण्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले प्रमुख अतिथि, अतिथि, प्रायोजक, सहयोगी, निर्णायक, अभिभावक, सहभागी प्रतियोगी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।
भद्रपुर, झापा। भद्रपुर झापा गोल्डकपको दोस्रो अधिवेशनबाट यसअघि निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण, शपथग्रहण, पदभार ग्रहण तथा पहिलो बैठक शनिबार सम्पन्न भएको छ।
भद्रपुरस्थित होटल एयरपोर्टको सभाकक्षमा निर्वाचन समिति संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, पूर्व प्रदेश सांसद वसन्तकुमार बानियाँ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राई, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली, वडाध्यक्षहरू गौरव सुब्बा, अभिशेक ढुंगाना, राम दाहाल, बन्धु कार्की र रतिया राजवंशीलगायतको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यक्रममा भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकर, नेपाल पत्रकार महासंघ सदस्य इषा प्रधान, हुलासचन्द्र सरिया, विनय गोयल, शिवकुमार गुप्तालगायत विभिन्न क्षेत्रका प्रतिनिधि, अतिथि, आजीवन सदस्य तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा निर्वाचन समिति संयोजक अधिवक्ता भट्टराईले नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई शपथग्रहण गराएका थिए। त्यसपछि अध्यक्ष ढकालले अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए। कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
निर्वाचन समितिका सदस्य रोहित काफ्लेले सञ्चालन गरेको कार्यक्रममा सदस्य गोपाल गिरीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा टिकाराज ढकाल, वडाध्यक्ष अभिशेक ढुंगाना र नगरप्रमुख गणेश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए। नवनिर्वाचित अध्यक्ष दिपेश ढकालले धन्यवाद ज्ञापन गर्दै गोल्डकपलाई थप व्यवस्थित, प्रभावकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
दोस्रो अधिवेशनबाट भद्रपुर झापा गोल्डकपको अध्यक्षमा दिपेश ढकाल निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षहरूमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन्।
२७ सदस्यीय कार्यसमितिको सदस्यहरूमा अर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बू, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका निर्वाचित भएका छन्।
प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रमपछि शनिबार नै नवनिर्वाचित अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा महासचिव जीवनकुमार श्रेष्ठको सञ्चालनमा पदभार ग्रहण तथा पहिलो बैठकसमेत सम्पन्न भएको छ।
बैठकमा कार्यसमितिमा पहिलोपटक निर्वाचित भएका सदस्यहरूको परिचय कार्यक्रम गरिएको थियो। साथै यसअघि समितिमा रही भद्रपुर झापा गोल्डकप तथा खेलकुद गतिविधि सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याएका गणेशलाल राजभण्डारीलगायत पूर्व कार्यसमिति सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।
पहिलो बैठकले निर्वाचन समिति, निर्वाचन समितिका कर्मचारी, कार्यालय कर्मचारी तथा पूर्व सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। त्यस्तै, भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तेस्रो संस्करण २०८३ साल फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा आयोजना गर्ने प्रतिबद्धतासहित तयारी अघि बढाउने निर्णय गरिएको छ।
प्रतियोगितामा नेपाली राष्ट्रिय स्तरका ‘ए’ डिभिजन क्लब, विभागीय टोलीसँगै भारत, बंगलादेश, भुटान र जापानका क्लबहरू सहभागी गराउने लक्ष्य राखिएको छ। सम्भव भए प्रतियोगितालाई रात्रीकालीन रूपमा भव्य र सफल ढंगले सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ललितपुर, सातदोबाटोको खेल तालिकामा समावेश गरिदिन अनुरोध गर्ने निर्णय गरेको छ। साथै तेस्रो संस्करण सञ्चालनका लागि झापाका सबै पालिका, कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, खेलकुद विकास बोर्ड, संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० त्रिपुरेश्वरलगायत सम्बन्धित निकायसँग सहयोग माग गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, दाता, उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूसँग समेत प्रतियोगिता सफल बनाउन सहयोगका लागि अपिल गरिने भएको छ।
बैठकले राष्ट्रिय वाणिज्य बैंक भद्रपुर र एक्सेल डेभलपमेन्ट बैंकमा रहेको बैंक खाता सञ्चालनका लागि नवनिर्वाचित अध्यक्ष दिपेश ढकाल, कोषाध्यक्ष अजयकुमार साहेवाला र सचिव तीर्थराज ढकाललाई आधिकारिक हस्ताक्षरकर्ता तोक्ने निर्णय गरेको छ। खाता सञ्चालन गर्दा कोषाध्यक्षको अनिवार्य दस्तखत र अध्यक्ष वा सचिवमध्ये कुनै एकको दस्तखत रहने व्यवस्था गरिएको छ।
साथै दोस्रो अधिवेशनका क्रममा भएका खर्चबारे जानकारी तथा अनुमोदन गर्ने र निर्वाचन कार्यक्रम सञ्चालन गरेबापत निर्वाचन समितिलाई समिति संयोजकसँग सरसल्लाह गरी रकम तोकेर भुक्तानी दिने निर्णयसमेत गरिएको छ।
कार्यक्रम तथा बैठकमा सहभागी आजीवन सदस्य, अतिथि, पत्रकार तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै बैठक समापन गरिएको थियो।






