भद्रपुर, झापा। झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको किचकबध क्षेत्रको नवौं चरणको उत्खनन् सम्पन्न भएको छ। पुरातत्वविद् उद्धव आचार्यसहित पुरातत्व विभागको टोलीले यस चरणअन्तर्गत भेटिएको संरचनाको उत्खनन् तथा संरक्षण कार्य पूरा गरेसँगै नवौं चरणको उत्खनन् सम्पन्न भएको हो।

वि.सं. २०५८ सालदेखि परीक्षण उत्खनन् सुरु गरिएको किचकबध क्षेत्रमा विविध कारणले बीच–बीचमा काम रोकिँदै आएको थियो। लामो समयदेखि क्रमिक रूपमा हुँदै आएको उत्खनन्का बाबजुद हालसम्म किचकबध क्षेत्रको करिब ३० प्रतिशत मात्रै उत्खनन् सम्पन्न भएको पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो।
भद्रपुर नगरपालिकाले उत्खननस्थलमै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुरातत्वविद् आचार्यले किचकबध क्षेत्र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म उत्खनन् गरिएका संरचना र प्राप्त सामग्रीले यो स्थल प्राचीन सभ्यता, संस्कृति र इतिहाससँग प्रत्यक्ष जोडिएको देखाउँछ।
आचार्यका अनुसार हालसम्म उत्खनन्बाट प्राप्त पुरातात्विक सामग्रीको बेलायतस्थित बुर्हान विश्वविद्यालयको प्रयोगशालामा गरिएको परीक्षणबाट किचकबध क्षेत्र इसापूर्व पहिलो शताब्दीको भएको तथ्य प्राप्त भएको छ। उहाँले अहिलेसम्म उत्खनन् गरिएका भागभन्दा बाँकी रहेका क्षेत्र अझै पुराना हुन सक्ने सम्भावना रहेको समेत बताउनुभयो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन किचकबध संरक्षण समितिका सचिव ब्रह्मलाल कोइरालाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।
पत्रकार सम्मेलनमा पुरातत्वविद् आचार्यले हालसम्म भेटिएका संरचना र पुरातात्विक सामग्रीका आधारमा किचकबध क्षेत्र भारतको शुंग–कुषाणकालीन समयसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँका अनुसार मोरङको भेडियारी क्षेत्र र किचकबधको समयकाल मिल्दोजुल्दो देखिएको छ। किचकबधको दोस्रो तहको संरचनाबाट भने यस क्षेत्रको इतिहास अझ पुरानो हुन सक्ने आधार भेटिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमको सहजीकरण गर्दै इतिहासविद् तथा पत्रकार चिन्तामणि दाहालले किचकबध केवल स्थानीय धार्मिक स्थल मात्र नभई नेपालकै महत्वपूर्ण राष्ट्रिय सम्पदा भएको बताउनुभयो। उहाँले यसको वैज्ञानिक उत्खनन्, संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
दाहालले किचकबधको सम्पूर्ण उत्खनन् कार्य पूरा गर्न पुरातत्व विभागको मात्र भर पर्न नहुने बताउनुभयो। उहाँले भद्रपुर नगरपालिका र कोशी प्रदेश सरकारले उत्खनन् तथा संरक्षणका लागि छुट्टै बजेट विनियोजन गरी कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँका अनुसार किचकबधको पूर्ण उत्खनन् र व्यवस्थित संरक्षण हुन सके यसले भद्रपुरको ऐतिहासिक पहिचानलाई थप मजबुत बनाउनेछ। साथै, धार्मिक तथा पुरातात्विक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउन सकिने उहाँको भनाइ थियो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले किचकबध क्षेत्रको उत्खनन् र संरक्षणका लागि कोशी प्रदेश सरकारसँग बजेट माग गरिएको जानकारी दिनुभयो। उहाँले नगरपालिकाले पनि आवश्यक बजेट व्यवस्थापन गरी किचकबधको उत्खनन्, संरक्षण र प्रवर्द्धनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरप्रमुख पोखरेलले किचकबध भद्रपुरको मात्र नभई झापा जिल्ला र कोशी प्रदेशकै गौरवको सम्पदा भएको बताउनुभयो। उहाँले यसको संरक्षण, प्रचारप्रसार र पर्यटकीय विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, संरक्षण समिति र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
पत्रकार सम्मेलनमा विभिन्न पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम तथा स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। किचकबधको नवौं चरणको उत्खनन् सम्पन्न भएसँगै बाँकी क्षेत्रमा वैज्ञानिक उत्खनन्, संरक्षण, अध्ययन–अनुसन्धान र पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको किचकबध क्षेत्रको पूर्ण उत्खनन् र संरक्षण हुन सके भद्रपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ।









