
अग्रज पत्रकार तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको नयाँ कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ शनिबार चन्द्रगढीमा सार्वजनिक गरिएको छ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको संयोजन तथा वर्तमान साहित्य प्रतिष्ठानको सह–संयोजनमा आयोजित विशेष साहित्यिक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो।
कार्यक्रममा प्रा.डा. गङ्गाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विमोचित कृतिबारे साहित्यकार चूडामणि वाशिष्ठले समीक्षात्मक टिप्पणी गर्दै ‘एक मुट्ठी भोक’ले समाजका विपन्न वर्ग, मानवीय संवेदना र जीवन संघर्षलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो।
नेपाली साहित्य परिषद् झापाका महासचिव राजु बरालको सञ्चालन, पत्रकार योगेश खपाङ्गीको स्वागत मन्तव्य तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा कविहरू विरही अधिकारी, लता खरेल, महेन्द्र कोइराला, उषा गुरुङ र लक्ष्मी चुडाललगायतले कविता वाचन गर्नुभएको थियो भने डिल्ली रमण नेपालले लोकगीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतिक स्वाद प्रदान गर्नुभएको थियो।
झापा । जलवायु परिवर्तनका बढ्दा प्रभावबारे समुदायलाई सचेत गराउँदै युवालाई वातावरण संरक्षण र जलवायु न्यायको अभियानमा सक्रिय बनाउने उद्देश्यले झापाको गौरादहमा ‘क्लाइमेट जस्टिस अवेयरनेसः फ्रम स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न भएको छ।
दिगो विकास इन्स्टिच्युट र CJAI Alumni–2026 को आयोजनामा तथा NYCA, Leo Club of Gauradaha, IAAS LC, NTSC, YCSA र TSAN को सहआयोजनामा बुधबार गौरादह बजार क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत फ्ल्यास मोब, सडक नाटक तथा सचेतनामूलक र्यालीमार्फत जलवायु न्याय, वातावरण संरक्षण र दिगो विकासका विषयमा जनचेतना फैलाइएको थियो। विशेषगरी सडक नाटकमार्फत अनियन्त्रित प्लास्टिक प्रयोग, फोहोर व्यवस्थापनको चुनौती, वन विनाश तथा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य, कृषि उत्पादन र जैविक विविधतामा परेको नकारात्मक प्रभावलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले जलवायु परिवर्तन विश्वव्यापी समस्या भए पनि यसको प्रत्यक्ष असर स्थानीय समुदायले भोगिरहेको उल्लेख गर्दै यसको समाधानका लागि स्थानीय सरकार, शैक्षिक संस्था, नागरिक समाज र युवाबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
र्यालीका सहभागीहरूले वातावरणमैत्री जीवनशैली अपनाउन, प्लास्टिकजन्य फोहोरको प्रयोग न्यूनीकरण गर्न, वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउन तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने सन्देश दिएका थिए।
आयोजकका अनुसार ‘सडकबाट कार्यमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको मुख्य उद्देश्य जलवायु न्यायको अवधारणालाई समुदायस्तरसम्म पुर्याउँदै युवालाई वातावरणीय नेतृत्वका लागि प्रेरित गर्नु हो। साथै, जलवायु परिवर्तनका चुनौतीसँग जुध्न जनचेतना अभिवृद्धिसँगै सामूहिक पहल र सक्रिय सहभागिता अपरिहार्य रहेको सन्देश पनि कार्यक्रमले दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सामाजिक संघसंस्था, युवा अभियन्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
भद्रपुर, असार १७। महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–६ वडा कार्यालयले सञ्चालन गरेको तीनदिने च्याउ खेती सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै ५० प्रतिशत लागत साझेदारीमा महिला उद्यमीहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ।
भद्रपुर नगरपालिका–६ वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष रतिया राजवंशीले गरेका थिए।
असार १२ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको तीनदिने स्थलगत च्याउ खेती सम्बन्धी सीप विकास तालिममा सहभागी महिलाहरूलाई व्यावसायिक च्याउ उत्पादन, व्यवस्थापन, बजारीकरण तथा उद्यम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन आग्रह गरिएको थियो।
यसै अवसरमा महिला उद्यमीहरूको आर्थिक सशक्तीकरणलाई थप टेवा पुर्याउने उद्देश्यले लागत साझेदारीको अवधारणाअनुसार सिलाई मेसिन वितरण गरिएको थियो। प्रत्येक सिलाई मेसिनको लागत रु. १४ हजार १२ निर्धारण गरिएकोमा लाभग्राहीले ५० प्रतिशत लागत स्वयं व्यहोरेका छन् भने बाँकी ५० प्रतिशत रकम भद्रपुर नगरपालिका–६ वडा कार्यालयले व्यहोरेको हो। स्थानीय सरकारको यस्तो लागत साझेदारी कार्यक्रमले लाभग्राहीमा स्वामित्वको भावना विकास गर्नुका साथै प्राप्त सामग्रीको प्रभावकारी उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारले नागरिकलाई केवल अनुदान वितरण गर्ने होइन, सीप, उत्पादन र उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले महिलाको आर्थिक सशक्तीकरण, घरेलु उद्यमको विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष रतिया राजवंशीले महिलाको क्षमता विकाससँगै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले वडा कार्यालयले सीपमूलक तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए। तालिमबाट हासिल गरेको ज्ञान र वितरण गरिएका सिलाई मेसिनको सदुपयोग गर्दै आत्मनिर्भर उद्यमीका रूपमा स्थापित हुन सहभागी महिलाहरूलाई उनले आग्रह गरे।
च्याउ खेती सम्बन्धी तालिमका लागि लर्ड बुद्ध प्रोफेसनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउनुका साथै घरेलु उद्यम विस्तार, पारिवारिक आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
बिर्तामोड, असार १३। विशेष प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहीन संघको २८औँ स्थापना दिवसको अवसरमा झापा नेत्रहीन संघद्वारा आयोजित कोशी प्रदेशस्तरीय दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको खुल्ला गायन प्रतियोगिता तथा तीन महिने संगीत तालिम समापन कार्यक्रम शनिबार बिर्तामोडस्थित झापा नेत्रहीन संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
“प्रतिभाको सम्मान, समान अवसरको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा, कला, आत्मविश्वास र सिर्जनशीलतालाई समाजमाझ उजागर गर्दै समान अवसर र समावेशी समाज निर्माणको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतियोगी, सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शुभेच्छुक तथा दृष्टिविहीन समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोशी प्रदेश सरकारका पूर्वमन्त्री माननीय एकराज कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा सम्मानजनक सहभागिता सुनिश्चित गर्न राज्य, स्थानीय तह, निजी क्षेत्र तथा समुदायबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले प्रतिभा पहिचान गर्नुका साथै आत्मविश्वास अभिवृद्धि र सामाजिक समावेशीकरणलाई समेत टेवा पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा झापा नेत्रहीन संघद्वारा सञ्चालन गरिएको तीन महिने संगीत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगितामा सहभागीहरूले नेपाली आधुनिक, लोक तथा भावप्रधान गीतमार्फत आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन यशोदा साख्या र हेमन्त रिजालले गरेका थिए।
प्रतियोगितामा शम्भु राजवंशी प्रथम, समीर अधिकारी द्वितीय, सुजिता राई तृतीय तथा पवित्रा तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भए। विजयी प्रतियोगीहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा भद्रपुर निवासी समाजसेवी तथा बौद्धिक व्यक्तित्व शिवकुमार भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा र क्षमतालाई समाजले सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले यस्ता सिर्जनात्मक तथा समावेशी कार्यक्रमले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच विस्तार गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई सबै क्षेत्रबाट निरन्तर साथ, सहयोग र प्रोत्साहन आवश्यक रहने धारणा व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग प्रदान गरेका थिए। सहयोगदातामध्ये डा. केशवराज न्यौपाने (एमडी) ले सबैभन्दा बढी रु. ११ हजार ५०० सहयोग प्रदान गरेका थिए। त्यसैगरी स्पेस लाइन प्रालिले रु. ५ हजार, आईटी सोलुसन बिर्तामोडले रु. ५ हजार, गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख रूपक खनालले रु. ३ हजार, **नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.**ले रु. २ हजार ५००, भद्रपुर निवासी समाजसेवी तथा बौद्धिक व्यक्तित्व शिवकुमार भण्डारीले रु. २ हजार १०० तथा लक्ष्मण बरालले रु. १ हजार ५ आर्थिक सहयोग प्रदान गरेका थिए। आयोजकले सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, प्रतिभा प्रवर्द्धन तथा संस्थाका सामाजिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
कार्यक्रमका अध्यक्ष होमनाथ राजवंशीले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा अवसरको अभावमा ओझेलमा पर्न नहुने उल्लेख गर्दै झापा नेत्रहीन संघले आगामी दिनमा पनि संगीत, सीप विकास, नेतृत्व विकास, आत्मनिर्भरता अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, निर्णायक, सहयोगदाता, प्रतियोगी, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे।
हेलेन केलरको प्रेरणादायी जीवनदर्शनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई उजागर गर्नुका साथै समान अवसर, सम्मान, आत्मनिर्भरता र समावेशी समाज निर्माणप्रति सामूहिक प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकको विश्वास रहेको छ।
झापा, १२ असार । समाजमा बढ्दो लागूऔषध दुव्र्यसनविरुद्ध विद्यार्थी तहदेखि नै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित जिल्लास्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा देवकोटा एजुकेशन फाउन्डेसन (देएफा), कनकाईकी छात्रा अनुष्का गुरागाईं प्रथम भएकी छन्।
‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयमा चेतना नेपाल, भद्रपुर–७ले आयोजना गरेको प्रतियोगितामा झापाका निजी तथा सामुदायिक गरी ४० वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा कनकाई माध्यमिक विद्यालयकी कुशुम तामाङ द्वितीय, राष्ट्रिय रमणीय आवासीय माध्यमिक विद्यालय, दुधेकी शिक्षा रिजाल तृतीय तथा कञ्चनजङ्घा अङ्ग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडकी निर्जला गौतमले सान्त्वना स्थान हासिल गरेका छन्।
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा विजेताहरूलाई क्रमशः रु. २५ हजार, रु. २१ हजार, रु. १५ हजार र रु. ११ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले वितरण गरेका थिए। प्रतियोगितामा सहभागी सबै ४० विद्यालयलाई सहभागिताको प्रमाणपत्र र मायाको चिनोसमेत प्रदान गरिएको थियो।
आयोजकका अनुसार गत वैशाख ५ गतेदेखि सञ्चालन गरिएको निबन्ध लेखन अभियानअन्तर्गत प्राप्त रचनाको मूल्याङ्कनपछि उत्कृष्ट प्रतियोगी छनोट गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीले लागूऔषध दुव्र्यसन समाजका लागि विकराल चुनौतीका रूपमा फैलिँदै गएको उल्लेख गर्दै विद्यार्थी अवस्थादेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। कानुन निर्माण भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उनले झापाका सबै स्थानीय तहमा चेतना नेपालको समिति विस्तार गरी लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थी, विद्यालय, अभिभावक र समुदायको साझा भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले स्वस्थ र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, चेतना नेपालका मानार्थ सदस्य तथा समाजसेवी शिवकुमार राजभण्डारीले लागूऔषधविरुद्धको लडाइँ कुनै एक संस्था वा निकायको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा अभियान भएको बताए। विद्यार्थीमा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले सकारात्मक सोचको विकास गर्नुका साथै भविष्यमा लागूऔषधमुक्त समाज निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
संस्थाकी कार्यालय प्रमुख कल्पना भट्टराईले स्वागत मन्तव्य राख्दै सन्देशमूलक गीत तथा कविता प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईले गरेका थिए।
वि.सं. २०६८ मा स्थापना भएको चेतना नेपालले भद्रपुरलाई मुख्य कार्यक्षेत्र बनाएर लागूऔषध दुव्र्यसन, बालविवाह, लैङ्गिक हिंसालगायत सामाजिक विकृतिविरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। युवा तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रममार्फत समाज रूपान्तरणमा संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

झापा । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक नवजात शिशुको शव खाली जग्गामा गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा पीडित युवतीले प्रारम्भिक बयानमा आफ्नै बुवाबाट जबर्जस्ती करणी भएको र जन्मिएको शिशुको शव बुवाकै सल्लाहमा गाडिएको बताएकी थिइन्।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोप लागेका प्रतिवादी फरार भएपछि झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीको प्राविधिक अनुसन्धान तथा विभिन्न जिल्लाका प्रहरी कार्यालयसँगको समन्वयबाट प्रतिवादी इलाममा लुकीछिपी बसिरहेको खुलेको थियो। सोही आधारमा प्राप्त विशेष सूचनाका आधारमा इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत झापा ल्याइएको छ। झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाकी पीडित युवतीलाई नेपाल सरकारको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक विद्युतीय सवारीसाधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भद्रपुर नगरपालिका–७, चन्द्रगढीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिक निर्माण गरिएको चार्जिङ स्टेसनको बुधबार नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।
नगर प्रमुख पोखरेलले भद्रपुर क्षेत्रमा विद्युतीय सवारीसाधनको संख्या निरन्तर बढ्दै गएकाले चार्जिङ स्टेसनको आवश्यकता महसुस गरी नगरपालिकाले गत आर्थिक वर्षमै कोशी प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग माग गरेको जानकारी दिए। नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले ठेक्का प्रक्रियामार्फत चार्जिङ स्टेसन निर्माण सम्पन्न गरेको उनले बताए।
‘यो भद्रपुर नगरपालिकाको पहिलो इभी चार्जिङ स्टेसन हो। यहाँ एकैपटक दुईवटा सवारीसाधन चार्ज गर्न सकिने व्यवस्था गरिएको छ,’ नगर प्रमुख पोखरेलले भने, ‘यसको प्रभावकारी उपयोगबाट विद्युतीय सवारी प्रयोगकर्तालाई थप सुविधा पुग्ने विश्वास लिएका छौँ।’
उनले वातावरणमैत्री विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न तथा दिगो यातायात प्रणाली विकासका लागि यस्ता पूर्वाधार विस्तार आवश्यक रहेको उल्लेख गरे।
नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार चार्जिङ शुल्क प्रतियुनिट १४ रुपैयाँ निर्धारण गरिएको छ। चार्जिङ स्टेसनबाट प्राप्त हुने कुल आम्दानीमध्ये २० प्रतिशत रकम मर्मतसम्भार तथा विद्युत् महसुल व्यवस्थापनमा खर्च गरिनेछ। बाँकी ८० प्रतिशत रकममध्ये ४० प्रतिशत भद्रपुर नगरपालिकाको आम्दानीमा जानेछ भने ४० प्रतिशत कोशी प्रदेश सरकारको खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
स्थानीयस्तरमै चार्जिङ सुविधा उपलब्ध भएसँगै भद्रपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई सहजता पुग्ने अपेक्षा गरिएको छ।
भद्रपुर–१० स्थित सेन्ट कुजुर एकाडेमीको आयोजनामा सञ्चालित प्रथम सेन्ट कुजुर कप दुई दिवसीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। हातेमालो सामुदायिक वन खेल मैदानमा भएको फाइनल खेलमा प्रज्ञान एकाडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–८ देउनियास्थित सेन्ट जेभियर्स स्कुल, देउनिया प्रतियोगिताको च्याम्पियन बनेको हो।
विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, सहकार्य, नेतृत्व क्षमता, टिमवर्क र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भद्रपुर र बिर्तामोडका विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन कार्यक्रम सामाजिक व्यक्तित्व, बौद्धिक तथा अग्रज व्यक्तित्व एवं चन्द्रगढी गाविसका पूर्वअध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सेन्ट कुजुर एकाडेमीका प्रिन्सिपल डेनी कुजुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार तथा शिक्षक राजु बरालले सञ्चालन गर्नुभएको थियो।
समापन कार्यक्रममा सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल, सहभागी विद्यालयका प्रतिनिधि शिक्षक, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आयोजक परिवारका तर्फबाट प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
फाइनल खेलमा सेन्ट जेभियर्सले सुरुदेखि नै सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। सेन्ट जेभियर्सका लागि जर्सी नं. ९ र जर्सी नं. ५ का खेलाडीले एक–एक गोल गरे। प्रज्ञान एकाडेमीले गोल फर्काउने प्रयास गरे पनि निर्धारित समयमा कुनै गोल गर्न नसक्दा सेन्ट जेभियर्स २–० गोल अन्तरले विजयी हुँदै च्याम्पियन बन्न सफल भयो।
यसअघि भएको दोस्रो सेमिफाइनल खेलमा प्रज्ञान एकाडेमीले आयोजक सेन्ट कुजुर एकाडेमीलाई ६–४ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा सेन्ट कुजुरका लागि जर्सी नं. ७ का खेलाडीले दुई गोल तथा जर्सी नं. १० र जर्सी नं. १७ का खेलाडीले एक–एक गोल गरेका थिए।
त्यसैगरी, प्रज्ञान एकाडेमीका तर्फबाट जर्सी नं. ४ का खेलाडीले ह्याट्रिकसहित तीन गोल गरे भने जर्सी नं. १०, जर्सी नं. १२ र जर्सी नं. ६ का खेलाडीले एक–एक गोल थपे। कुल १० गोल भएको रोमाञ्चक सेमिफाइनलमा प्रज्ञान एकाडेमीले ६–४ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
प्रतियोगिताको समापनसँगै विजेता सेन्ट जेभियर्स स्कुल र उपविजेता प्रज्ञान एकाडेमीलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेन्ट जेभियर्सका सुमित राई म्यान अफ द म्याच घोषित भए। साथै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।
कार्यक्रमका वक्ताहरूले विद्यालयस्तरमै खेलकुद प्रतियोगिता आयोजना गरिनु अत्यन्त सकारात्मक र प्रेरणादायी कार्य भएको बताएका थिए। उनीहरूले खेलकुदले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन, सहकार्य, टिमवर्क, नेतृत्व क्षमता र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे।
प्रतियोगितालाई हातेमालो सामुदायिक वन उपभोक्ता समिति मेचीनगर–१३ र ब्रदर्स युनाइटेड क्लब भद्रपुर–१ ले प्राविधिक सहयोग गरेका थिए।
आयोजक सेन्ट कुजुर एकाडेमीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी, सहयोगी संस्था, अतिथि, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
झापा। भद्रपुर–१० स्थित सेन्ट कुजुर एकाडेमीको आयोजनामा प्रथम सेन्ट कुजुर कप दुई दिवसीय फुटबल प्रतियोगिता सुरु भएको छ।
वि.सं. २०८३ असार ७ र ८ गते सञ्चालन हुने प्रतियोगिता आइतबार र सोमबार हातेमालो सामुदायिक वन खेल मैदानमा आयोजना गरिएको हो। विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, सहकार्य, नेतृत्व क्षमता, टिमवर्क र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम सेन्ट कुजुर एकाडेमीका प्रिन्सिपल डेनी कुजुरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार तथा शिक्षक राजु बरालले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा ग्यालेक्सी इंग्लिस स्कुलका भाइस प्रिन्सिपल विवेक चाम्लागाईं, हातेमालो सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष कुसुम कटुवाल, विभिन्न विद्यालयका शिक्षक, खेलप्रेमी, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगितामा भद्रपुरका ८ र बिर्तामोडका २ गरी १० विद्यालयका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन दिन चार खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बिर्तामोड–८ देउनियास्थित सेन्ट जेभियर्स स्कुल, देउनियाले भद्रपुरको ग्यालेक्सी इंग्लिस स्कुललाई ५–२ गोल अन्तरले पराजित गर्यो। सेन्ट जेभियर्सका तर्फबाट जर्सी नं. ११, २, ५ र ८ का खेलाडीले गोल गरेका थिए भने ग्यालेक्सीका लागि जर्सी नं. १२ र ८ का खेलाडीले गोल फर्काए।
दोस्रो खेलमा आयोजक सेन्ट कुजुर एकाडेमीले भद्रपुर–१० स्थित विभूति विद्या मन्दिर इंग्लिस सेकेन्डरी स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ। सेन्ट कुजुरका लागि जर्सी नं. २१ का खेलाडीले दुई गोल र जर्सी नं. ७ का खेलाडीले तीन गोल गरेका थिए।
त्यस्तै, तेस्रो खेलमा भद्रपुरको प्रज्ञान एकाडेमीले बिर्तामोड–८ स्थित प्रशान्ति एजुकेसन फाउन्डेसनलाई २–० गोल अन्तरले हरायो। चौथो खेलमा भद्रपुरको मोडर्न इंग्लिस स्कुलले मोरन मेमोरियल स्कुललाई २–१ गोल अन्तरले पराजित गरेको छ। मोडर्नका लागि जर्सी नं. ७ र ११ का खेलाडीले गोल गरेका थिए भने मोरन मेमोरियलका लागि जर्सी नं. ११ का खेलाडीले एक गोल फर्काए।
प्रतियोगितालाई हातेमालो सामुदायिक वन उपभोक्ता समिति मेचीनगर–१३ र ब्रदर्स युनाइटेड क्लब भद्रपुर–१ ले प्राविधिक सहयोग गरेका छन्।
प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल, फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको समापनसँगै विजेता, उपविजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिनेछ।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयस्तरमै खेलकुदलाई प्रोत्साहन गर्न सके विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन, टिमवर्क र सकारात्मक सोचको विकास हुने धारणा राखेका थिए। यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
आयोजक सेन्ट कुजुर एकाडेमीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ।


































































