झापा। भद्रपुर–१० स्थित सेन्ट कुजुर एकाडेमीको आयोजनामा प्रथम सेन्ट कुजुर कप दुई दिवसीय फुटबल प्रतियोगिता सुरु भएको छ।

वि.सं. २०८३ असार ७ र ८ गते सञ्चालन हुने प्रतियोगिता आइतबार र सोमबार हातेमालो सामुदायिक वन खेल मैदानमा आयोजना गरिएको हो। विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, सहकार्य, नेतृत्व क्षमता, टिमवर्क र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम सेन्ट कुजुर एकाडेमीका प्रिन्सिपल डेनी कुजुरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार तथा शिक्षक राजु बरालले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा ग्यालेक्सी इंग्लिस स्कुलका भाइस प्रिन्सिपल विवेक चाम्लागाईं, हातेमालो सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष कुसुम कटुवाल, विभिन्न विद्यालयका शिक्षक, खेलप्रेमी, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगितामा भद्रपुरका ८ र बिर्तामोडका २ गरी १० विद्यालयका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन दिन चार खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बिर्तामोड–८ देउनियास्थित सेन्ट जेभियर्स स्कुल, देउनियाले भद्रपुरको ग्यालेक्सी इंग्लिस स्कुललाई ५–२ गोल अन्तरले पराजित गर्यो। सेन्ट जेभियर्सका तर्फबाट जर्सी नं. ११, २, ५ र ८ का खेलाडीले गोल गरेका थिए भने ग्यालेक्सीका लागि जर्सी नं. १२ र ८ का खेलाडीले गोल फर्काए।
दोस्रो खेलमा आयोजक सेन्ट कुजुर एकाडेमीले भद्रपुर–१० स्थित विभूति विद्या मन्दिर इंग्लिस सेकेन्डरी स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ। सेन्ट कुजुरका लागि जर्सी नं. २१ का खेलाडीले दुई गोल र जर्सी नं. ७ का खेलाडीले तीन गोल गरेका थिए।
त्यस्तै, तेस्रो खेलमा भद्रपुरको प्रज्ञान एकाडेमीले बिर्तामोड–८ स्थित प्रशान्ति एजुकेसन फाउन्डेसनलाई २–० गोल अन्तरले हरायो। चौथो खेलमा भद्रपुरको मोडर्न इंग्लिस स्कुलले मोरन मेमोरियल स्कुललाई २–१ गोल अन्तरले पराजित गरेको छ। मोडर्नका लागि जर्सी नं. ७ र ११ का खेलाडीले गोल गरेका थिए भने मोरन मेमोरियलका लागि जर्सी नं. ११ का खेलाडीले एक गोल फर्काए।
प्रतियोगितालाई हातेमालो सामुदायिक वन उपभोक्ता समिति मेचीनगर–१३ र ब्रदर्स युनाइटेड क्लब भद्रपुर–१ ले प्राविधिक सहयोग गरेका छन्।
प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल, फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको समापनसँगै विजेता, उपविजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिनेछ।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयस्तरमै खेलकुदलाई प्रोत्साहन गर्न सके विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन, टिमवर्क र सकारात्मक सोचको विकास हुने धारणा राखेका थिए। यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
आयोजक सेन्ट कुजुर एकाडेमीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ।



















