झापा। हल्दिबारी गाउँपालिका वडा नम्बर ४ ले स्थानीय विपन्न, लोपोन्मुख, जनजाति, आदिवासी तथा दलित समुदायका ११५ परिवारलाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरेको छ। वडाको चालू आर्थिक वर्षको समावेशी बजेट र उपभोक्ताको लागत साझेदारीमा खरिद गरिएका चुलो लक्षित वर्गका परिवारलाई हस्तान्तरण गरिएको हो।

वडा कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच लाभग्राही परिवारलाई चुलो वितरण गरिएको वडा कार्यालयले जनाएको छ। कुल लागतको ६० प्रतिशत रकम वडाको सिलिङ बजेटबाट अनुदानस्वरूप व्यहोरी बाँकी ४० प्रतिशत रकम उपभोक्ता स्वयंको साझेदारीमा चुलो खरिद गरिएको हो।
वडा अध्यक्ष शन्तकुमार थापाले वडाभित्रका वास्तविक विपन्न तथा पछाडि परेका समुदायलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री भान्छाको पहुँचमा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार पारदर्शी कार्यविधि बनाएर लक्षित समुदाय छनोट गरी ६० प्रतिशत वडा बजेट र ४० प्रतिशत उपभोक्ता लागत साझेदारीमा इन्फ्रारेड चुलो वितरण गरिएको हो।
वडाध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन ‘प्रचालीङ्’ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले पालिकालाई धुवाँमुक्त बनाउने, दाउरा तथा परम्परागत इन्धनमाथिको निर्भरता घटाउने र स्वच्छ ऊर्जाको प्रयोग बढाउने नीति अनुरूप वडाले सराहनीय काम गरेको बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वडा सदस्य सुनिल बारकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वडा सचिव टिकाराम ढकालले गरेका थिए।
इन्फ्रारेड चुलो प्राप्त गरेपछि जुनसुकै भाँडा प्रयोग गर्न मिल्ने, दाउरा र एलपी ग्यासको विकल्प हुने तथा भान्छामा धुवाँको समस्या कम हुने भन्दै स्थानीय उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।











