२०८३ श्रावण ९ गते, शनिबार
२०८३ श्रावण ९ गते, शनिबार

लागुऔषधविरुद्ध सचेतना जगाउन जिल्लास्तरीय निबन्ध प्रतियोगिता, देएफाकी अनुष्का गुरागाईं प्रथम

झापा, १२ असार । समाजमा बढ्दो लागूऔषध दुव्र्यसनविरुद्ध विद्यार्थी तहदेखि नै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित जिल्लास्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा देवकोटा एजुकेशन फाउन्डेसन (देएफा), कनकाईकी छात्रा अनुष्का गुरागाईं प्रथम भएकी छन्।

‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयमा चेतना नेपाल, भद्रपुर–७ले आयोजना गरेको प्रतियोगितामा झापाका निजी तथा सामुदायिक गरी ४० वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा कनकाई माध्यमिक विद्यालयकी कुशुम तामाङ द्वितीय, राष्ट्रिय रमणीय आवासीय माध्यमिक विद्यालय, दुधेकी शिक्षा रिजाल तृतीय तथा कञ्चनजङ्घा अङ्ग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडकी निर्जला गौतमले सान्त्वना स्थान हासिल गरेका छन्।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा विजेताहरूलाई क्रमशः रु. २५ हजार, रु. २१ हजार, रु. १५ हजार र रु. ११ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले वितरण गरेका थिए। प्रतियोगितामा सहभागी सबै ४० विद्यालयलाई सहभागिताको प्रमाणपत्र र मायाको चिनोसमेत प्रदान गरिएको थियो।

आयोजकका अनुसार गत वैशाख ५ गतेदेखि सञ्चालन गरिएको निबन्ध लेखन अभियानअन्तर्गत प्राप्त रचनाको मूल्याङ्कनपछि उत्कृष्ट प्रतियोगी छनोट गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीले लागूऔषध दुव्र्यसन समाजका लागि विकराल चुनौतीका रूपमा फैलिँदै गएको उल्लेख गर्दै विद्यार्थी अवस्थादेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। कानुन निर्माण भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उनले झापाका सबै स्थानीय तहमा चेतना नेपालको समिति विस्तार गरी लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थी, विद्यालय, अभिभावक र समुदायको साझा भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले स्वस्थ र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, चेतना नेपालका मानार्थ सदस्य तथा समाजसेवी शिवकुमार राजभण्डारीले लागूऔषधविरुद्धको लडाइँ कुनै एक संस्था वा निकायको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा अभियान भएको बताए। विद्यार्थीमा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले सकारात्मक सोचको विकास गर्नुका साथै भविष्यमा लागूऔषधमुक्त समाज निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

संस्थाकी कार्यालय प्रमुख कल्पना भट्टराईले स्वागत मन्तव्य राख्दै सन्देशमूलक गीत तथा कविता प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईले गरेका थिए।

वि.सं. २०६८ मा स्थापना भएको चेतना नेपालले भद्रपुरलाई मुख्य कार्यक्षेत्र बनाएर लागूऔषध दुव्र्यसन, बालविवाह, लैङ्गिक हिंसालगायत सामाजिक विकृतिविरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। युवा तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रममार्फत समाज रूपान्तरणमा संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।