झापा । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक नवजात शिशुको शव खाली जग्गामा गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा पीडित युवतीले प्रारम्भिक बयानमा आफ्नै बुवाबाट जबर्जस्ती करणी भएको र जन्मिएको शिशुको शव बुवाकै सल्लाहमा गाडिएको बताएकी थिइन्।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोप लागेका प्रतिवादी फरार भएपछि झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीको प्राविधिक अनुसन्धान तथा विभिन्न जिल्लाका प्रहरी कार्यालयसँगको समन्वयबाट प्रतिवादी इलाममा लुकीछिपी बसिरहेको खुलेको थियो। सोही आधारमा प्राप्त विशेष सूचनाका आधारमा इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत झापा ल्याइएको छ। झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाकी पीडित युवतीलाई नेपाल सरकारको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।









