२०८३ असार ९ गते, मंगलवार
२०८३ असार ९ गते, मंगलवार

सेन्ट जेभियर्स प्रथम सेन्ट कुजुर कपको च्याम्पियन, प्रज्ञान एकाडेमी उपविजेता

भद्रपुर–१० स्थित सेन्ट कुजुर एकाडेमीको आयोजनामा सञ्चालित प्रथम सेन्ट कुजुर कप दुई दिवसीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। हातेमालो सामुदायिक वन खेल मैदानमा भएको फाइनल खेलमा प्रज्ञान एकाडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–८ देउनियास्थित सेन्ट जेभियर्स स्कुल, देउनिया प्रतियोगिताको च्याम्पियन बनेको हो।

विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, सहकार्य, नेतृत्व क्षमता, टिमवर्क र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भद्रपुर र बिर्तामोडका विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको समापन कार्यक्रम सामाजिक व्यक्तित्व, बौद्धिक तथा अग्रज व्यक्तित्व एवं चन्द्रगढी गाविसका पूर्वअध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सेन्ट कुजुर एकाडेमीका प्रिन्सिपल डेनी कुजुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार तथा शिक्षक राजु बरालले सञ्चालन गर्नुभएको थियो।

समापन कार्यक्रममा सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल, सहभागी विद्यालयका प्रतिनिधि शिक्षक, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आयोजक परिवारका तर्फबाट प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

फाइनल खेलमा सेन्ट जेभियर्सले सुरुदेखि नै सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। सेन्ट जेभियर्सका लागि जर्सी नं. ९ र जर्सी नं. ५ का खेलाडीले एक–एक गोल गरे। प्रज्ञान एकाडेमीले गोल फर्काउने प्रयास गरे पनि निर्धारित समयमा कुनै गोल गर्न नसक्दा सेन्ट जेभियर्स २–० गोल अन्तरले विजयी हुँदै च्याम्पियन बन्न सफल भयो।

यसअघि भएको दोस्रो सेमिफाइनल खेलमा प्रज्ञान एकाडेमीले आयोजक सेन्ट कुजुर एकाडेमीलाई ६–४ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा सेन्ट कुजुरका लागि जर्सी नं. ७ का खेलाडीले दुई गोल तथा जर्सी नं. १० र जर्सी नं. १७ का खेलाडीले एक–एक गोल गरेका थिए।

त्यसैगरी, प्रज्ञान एकाडेमीका तर्फबाट जर्सी नं. ४ का खेलाडीले ह्याट्रिकसहित तीन गोल गरे भने जर्सी नं. १०, जर्सी नं. १२ र जर्सी नं. ६ का खेलाडीले एक–एक गोल थपे। कुल १० गोल भएको रोमाञ्चक सेमिफाइनलमा प्रज्ञान एकाडेमीले ६–४ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोगिताको समापनसँगै विजेता सेन्ट जेभियर्स स्कुल र उपविजेता प्रज्ञान एकाडेमीलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेन्ट जेभियर्सका सुमित राई म्यान अफ द म्याच घोषित भए। साथै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।

कार्यक्रमका वक्ताहरूले विद्यालयस्तरमै खेलकुद प्रतियोगिता आयोजना गरिनु अत्यन्त सकारात्मक र प्रेरणादायी कार्य भएको बताएका थिए। उनीहरूले खेलकुदले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन, सहकार्य, टिमवर्क, नेतृत्व क्षमता र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

प्रतियोगितालाई हातेमालो सामुदायिक वन उपभोक्ता समिति मेचीनगर–१३ र ब्रदर्स युनाइटेड क्लब भद्रपुर–१ ले प्राविधिक सहयोग गरेका थिए।

आयोजक सेन्ट कुजुर एकाडेमीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी, सहयोगी संस्था, अतिथि, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।