२०८३ श्रावण ३ गते, आईतवार
२०८३ श्रावण ३ गते, आईतवार

भद्रपुरमा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रिया, सीमा सुरक्षामा जनसहभागिता बढाउन जोड

भद्रपुर, असार २०। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय, झापाको आयोजनामा भद्रपुर नगरपालिका–५ स्थित मोहोपाल धर्मशालामा “सीमावासीसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। सीमाक्षेत्रमा शान्ति, सुरक्षा तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमावासीसँग प्रत्यक्ष संवाद स्थापित गर्ने तथा स्थानीय समुदायका सुझाव, गुनासा र अनुभवलाई सुरक्षा व्यवस्थापनमा समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सीमाक्षेत्रका स्थानीय बासिन्दा, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्व शिवकुमार राजभण्डारीको समेत उपस्थिति रहेको थियो। अन्तरक्रियाका क्रममा सहभागीहरूले सीमा सुरक्षा, नागरिक सुरक्षा, चोरी–तस्करी नियन्त्रण, मानव बेचबिखन न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध आवतजावत तथा सीमाक्षेत्रमा देखिएका विविध स्थानीय समस्याका विषयमा आफ्ना धारणा, अनुभव, सुझाव तथा जिज्ञासाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले सीमा सुरक्षा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले सीमाक्षेत्रमा हुने चोरी–तस्करी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, अवैध आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता, समयमै सूचना आदान–प्रदान तथा सुरक्षा निकायसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले सीमावासी र सुरक्षा निकायबीच आपसी विश्वास, नियमित संवाद र समन्वयलाई अझ सुदृढ बनाउन यस्ता अन्तरक्रियामूलक कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै स्थानीय तहबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी सुरक्षा रणनीति र सीमा व्यवस्थापनमा समेटिने बताउनुभयो। सीमा सुरक्षा प्रभावकारी बनाउन स्थानीय समुदायको सचेतना र नागरिक सहभागिता उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर शाह ठकुरीले सीमावासीसँग प्रत्यक्ष संवादमार्फत सीमा क्षेत्रमा देखिएका समस्या, चुनौती तथा स्थानीय समुदायका अपेक्षाबारे जानकारी संकलन गरी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई संस्थागत गर्दै सुरक्षित, शान्तिपूर्ण तथा अपराधमुक्त सीमाक्षेत्र निर्माणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले सीमा सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन नियमित समन्वय, जनचेतनामूलक कार्यक्रम, सूचनाको आदान–प्रदान तथा नागरिक सहभागिता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। सहभागीहरूले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न स्थानीय समुदाय र सुरक्षा निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा आयोजकले सहभागीहरूबाट प्राप्त सुझाव, अनुभव तथा गुनासाहरूलाई आगामी सुरक्षा योजना तथा सीमा व्यवस्थापनमा समेट्दै सीमावासी र सशस्त्र प्रहरी बलबीच आपसी विश्वास, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। समुदायसँगको साझेदारीमा सञ्चालन गरिने यस्ता अन्तरक्रियामूलक कार्यक्रमले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुका साथै नागरिक र सुरक्षा निकायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

 

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।