अग्रज पत्रकार तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको नयाँ कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ शनिबार चन्द्रगढीमा सार्वजनिक गरिएको छ।

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको संयोजन तथा वर्तमान साहित्य प्रतिष्ठानको सह–संयोजनमा आयोजित विशेष साहित्यिक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो।
कार्यक्रममा प्रा.डा. गङ्गाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विमोचित कृतिबारे साहित्यकार चूडामणि वाशिष्ठले समीक्षात्मक टिप्पणी गर्दै ‘एक मुट्ठी भोक’ले समाजका विपन्न वर्ग, मानवीय संवेदना र जीवन संघर्षलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो।
नेपाली साहित्य परिषद् झापाका महासचिव राजु बरालको सञ्चालन, पत्रकार योगेश खपाङ्गीको स्वागत मन्तव्य तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा कविहरू विरही अधिकारी, लता खरेल, महेन्द्र कोइराला, उषा गुरुङ र लक्ष्मी चुडाललगायतले कविता वाचन गर्नुभएको थियो भने डिल्ली रमण नेपालले लोकगीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतिक स्वाद प्रदान गर्नुभएको थियो।









