२०८३ जेष्ठ २९ गते, शुक्रबार
२०८३ जेष्ठ २९ गते, शुक्रबार

झापा। हल्दिबारी गाउँपालिका वडा नम्बर ४ ले स्थानीय विपन्न, लोपोन्मुख, जनजाति, आदिवासी तथा दलित समुदायका ११५ परिवारलाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरेको छ। वडाको चालू आर्थिक वर्षको समावेशी बजेट र उपभोक्ताको लागत साझेदारीमा खरिद गरिएका चुलो लक्षित वर्गका परिवारलाई हस्तान्तरण गरिएको हो।

वडा कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच लाभग्राही परिवारलाई चुलो वितरण गरिएको वडा कार्यालयले जनाएको छ। कुल लागतको ६० प्रतिशत रकम वडाको सिलिङ बजेटबाट अनुदानस्वरूप व्यहोरी बाँकी ४० प्रतिशत रकम उपभोक्ता स्वयंको साझेदारीमा चुलो खरिद गरिएको हो।

वडा अध्यक्ष शन्तकुमार थापाले वडाभित्रका वास्तविक विपन्न तथा पछाडि परेका समुदायलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री भान्छाको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार पारदर्शी कार्यविधि बनाएर लक्षित समुदाय छनोट गरी ६० प्रतिशत वडा बजेट र ४० प्रतिशत उपभोक्ता लागत साझेदारीमा इन्फ्रारेड चुलो वितरण गरिएको हो।

वडाध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन ‘प्रचालीङ्’ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले पालिकालाई धुवाँमुक्त बनाउने, दाउरा तथा परम्परागत इन्धनमाथिको निर्भरता घटाउने र स्वच्छ ऊर्जाको प्रयोग बढाउने नीति अनुरूप वडाले सराहनीय काम गरेको बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वडा सदस्य सुनिल बारकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वडा सचिव टिकाराम ढकालले गरेका थिए।

इन्फ्रारेड चुलो प्राप्त गरेपछि जुनसुकै भाँडा प्रयोग गर्न मिल्ने, दाउरा र एलपी ग्यासको विकल्प हुने तथा भान्छामा धुवाँको समस्या कम हुने भन्दै स्थानीय उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।

हल्दिबारी गाउँपालिकामा गाउँपालिका स्तरीय बाल भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले बालबालिकाका हकहित, आवश्यकता र स्थानीय तहमा समेटिनुपर्ने प्राथमिक मागहरू पहिचान गर्दै आगामी योजनाका लागि महत्वपूर्ण सुझाव संकलन गरेको छ।

हल्दिबारी बाल सञ्जालका अध्यक्ष प्रितम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले बालबालिकाको अधिकार, संरक्षण, विकास र अर्थपूर्ण सहभागिताप्रति गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालबालिकाबाट आएका रचनात्मक माग तथा सुझावलाई स्थानीय सरकारको नीति, कार्यक्रम र योजनामा सम्भव भएसम्म समेटिने आश्वासन दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन ‘महेन्द्र’ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, योजना शाखा प्रमुख राजन न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर तथा बाल सञ्जालका संस्थापक एवं पूर्व अध्यक्ष पवन गिरीलगायतको उपस्थिति रहेको थियो।

भेलामा गाउँपालिकाभरिबाट सहभागी भएका बालबालिकाहरूले विद्यालयीय वातावरण, बालमैत्री संरचना, खेलकुद, क्षमता विकास, बालअधिकार संरक्षण तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न माग र आवश्यकता प्रस्तुत गरेका थिए। बालबालिकाले उठाएका मागहरूलाई छलफलमार्फत संकलन गरी प्राथमिकताका आधारमा योजनाका रूपमा छनोट गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी बालबालिकालाई योजना छनोट प्रक्रिया तथा बालअधिकारका विविध विषयमा योजना शाखा प्रमुख राजन न्यौपानेले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। हल्दिबारी बाल सञ्जालकी सचिव पुष्पा दंगालले सञ्चालन गर्नुभएको उक्त भेला उत्साहजनक, सहभागितामूलक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको बताइएको छ।

झापा। हल्दिबारी गाउँपालिकाले वडा नम्बर ४ र ५ मा पर्ने अधिकारीचोक बजारमा आकस्मिक बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा बिना इजाजत अवैध रूपमा सञ्चालन हुँदै आएको एक औषधी पसल सिल गरिएको छ भने कैफियत देखिएका अन्य १७ वटा पसललाई आवश्यक कागजात पूर्ण गर्न निर्देशन दिइएको छ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको संयोजकत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा प्रतिनिधिहरू सहभागी थिए। अनुगमन टोलीले बजार क्षेत्रमा रहेका कुल २० वटा पसलको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा अधिकारीचोकस्थित वडा नम्बर ५ मा मोहमद नसिम आलमले सञ्चालन गरेको औषधी पसलमा सञ्चालन तथा उपचारसम्बन्धी आवश्यक आधिकारिक शैक्षिक र कानुनी प्रमाणपत्र नभेटिएपछि पसल सिल गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले जानकारी दिइन्। उनका अनुसार सञ्चालकलाई आगामी ११ गतेभित्र आवश्यक कागजातसहित गाउँपालिकामा उपस्थित हुन घटनास्थलमै निर्देशन दिइएको छ।

अनुगमन टोली पुग्दा बन्द रहेका पसलहरूमा कार्यालयमा उपस्थित हुन गाउँपालिकाको आधिकारिक सूचना टाँस गरिएको छ। यस्तै, कैफियत देखिएका अन्य १७ वटा पसललाई पनि यही ११ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’ले बताए।

अनुगमनका क्रममा पसलहरूको दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, मूल्य सूची, उपभोग्य मिति, गुणस्तर तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। टोलीले व्यवसायीहरूलाई कानुनी प्रक्रिया पूरा गरी उपभोक्ताको अधिकारको सम्मान गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

गाउँपालिकाले व्यवसायीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि अनुगमन गरिएको जनाएको छ। पालिकाले हल्दिबारी क्षेत्रका अन्य बजारहरूमा पनि क्रमशः अनुगमनलाई निरन्तरता दिने र निर्देशन तथा कानुनी प्रक्रिया पालना नगर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

झापा। हल्दिबारी गाउँपालिकामा सहारा नेपालको आयोजनामा ‘संकल्प परियोजना’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उपेक्षित उष्ण प्रदेशीय रोगहरू (Neglected Tropical Diseases–NTDs) को प्रारम्भिक पहिचान, रोकथाम, नियन्त्रण तथा उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचानका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापालगायत विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा विद्यमान हात्तीपाइले, कुष्ठरोगलगायत ११ प्रकारका उपेक्षित उष्ण प्रदेशीय रोगहरूको अवस्था, प्रभाव, जोखिम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराइएको थियो। नेपाल सरकारले सन् २०३० सम्ममा यस्ता रोगहरूको उन्मूलन गर्ने लक्ष्य लिएको सन्दर्भमा संकल्प परियोजनाले रोगहरूको पहिचान, न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा काम गर्ने जानकारी गराइएको थियो।

संकल्प परियोजनाका कार्यक्रम संयोजक प्रसन्न कार्की र फोकल पर्सन पवन चाम्लिङले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले उपेक्षित उष्ण प्रदेशीय रोगबारे समुदायस्तरमा अझै पर्याप्त जनचेतना अभाव रहेको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको प्रभावकारी समन्वयबाट मात्रै रोग नियन्त्रण तथा रोकथाम सम्भव हुने धारणा राखेका थिए।

छलफलका क्रममा जोखिममा रहेका समुदाय तथा क्षेत्रहरूको पहिचान, जनचेतना अभिवृद्धि, समयमै परीक्षण तथा उपचार सेवामा पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन र स्वास्थ्य व्यवहार सुधारका विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमले स्थानीय तहलाई योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। उनले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आवश्यक सहकार्य, समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

अभिमुखीकरण कार्यक्रमले उपेक्षित उष्ण प्रदेशीय रोगहरूको नियन्त्रण तथा उन्मूलनका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाबीच साझा बुझाइ विकास गर्नुका साथै आगामी कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशन प्रदान गरेको आयोजकले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।