झापा। हल्दिबारी गाउँपालिकामा सहारा नेपालको आयोजनामा ‘संकल्प परियोजना’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उपेक्षित उष्ण प्रदेशीय रोगहरू (Neglected Tropical Diseases–NTDs) को प्रारम्भिक पहिचान, रोकथाम, नियन्त्रण तथा उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचानका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापालगायत विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालमा विद्यमान हात्तीपाइले, कुष्ठरोगलगायत ११ प्रकारका उपेक्षित उष्ण प्रदेशीय रोगहरूको अवस्था, प्रभाव, जोखिम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराइएको थियो। नेपाल सरकारले सन् २०३० सम्ममा यस्ता रोगहरूको उन्मूलन गर्ने लक्ष्य लिएको सन्दर्भमा संकल्प परियोजनाले रोगहरूको पहिचान, न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा काम गर्ने जानकारी गराइएको थियो।
संकल्प परियोजनाका कार्यक्रम संयोजक प्रसन्न कार्की र फोकल पर्सन पवन चाम्लिङले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले उपेक्षित उष्ण प्रदेशीय रोगबारे समुदायस्तरमा अझै पर्याप्त जनचेतना अभाव रहेको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको प्रभावकारी समन्वयबाट मात्रै रोग नियन्त्रण तथा रोकथाम सम्भव हुने धारणा राखेका थिए।
छलफलका क्रममा जोखिममा रहेका समुदाय तथा क्षेत्रहरूको पहिचान, जनचेतना अभिवृद्धि, समयमै परीक्षण तथा उपचार सेवामा पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन र स्वास्थ्य व्यवहार सुधारका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमले स्थानीय तहलाई योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउने बताए। उनले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आवश्यक सहकार्य, समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
अभिमुखीकरण कार्यक्रमले उपेक्षित उष्ण प्रदेशीय रोगहरूको नियन्त्रण तथा उन्मूलनका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाबीच साझा बुझाइ विकास गर्नुका साथै आगामी कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशन प्रदान गरेको आयोजकले जनाएको छ।











