२०८३ जेष्ठ २८ गते, बिहीबार
२०८३ जेष्ठ २८ गते, बिहीबार

विराटनगर विमानस्थलभित्र ‘मूल्य आतंक’ : एमआरपीभन्दा दोब्बरसम्म असुल्ने चार क्याफे–होटेललाई १२ लाख जरिबाना

विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग वस्तुको अंकित मूल्य (एमआरपी) भन्दा अत्यधिक बढी रकम असुलेको पुष्टि भएपछि चार व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिबाना गरिएको छ।

यात्रु तथा सर्वसाधारणबाट विमानस्थलभित्र मनपरी मूल्य लिइने गरेको गुनासो लगातार बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त अनियमितता फेला परेको हो।

अनुगमन टोलीले विमानस्थल परिसरभित्र सञ्चालित चारवटै व्यवसायले उपभोक्ताबाट अंकित मूल्यभन्दा बढी रकम असुलेको प्रमाण भेटेपछि तत्काल कानुनी कारबाही गर्दै प्रत्येकलाई तीन–तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ।

अनुगमनका क्रममा बोर्डिङ कक्षमा सञ्चालित ममता होटल ले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। त्यस्तै, विमानस्थल क्यान्टिनअन्तर्गतको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालि ले ५० रुपैयाँ मूल्यको कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल जारी गरेको पाइएको छ।

यस्तै, गरिमा क्याफे ले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको भेटिएको छ भने अनुकूल होटल एन्ड भान्सा घर ले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले उजागर गरेको छ।

उपभोक्तामाथि चर्को मूल्य असुलेको पुष्टि भएपछि चारवटै व्यवसायविरुद्ध उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अन्तर्गत कसुर कायम गरिएको हो। सोही ऐनको दफा ३९(१)(ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइराला ले जानकारी दिए। उनका अनुसार कारबाहीस्वरूप चारवटै व्यवसायबाट कुल १२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विमानस्थलजस्तो सार्वजनिक सेवा र यात्रुको बाध्यतासँग जोडिएको संवेदनशील स्थानमा विकल्पको अभावको फाइदा उठाउँदै अस्वाभाविक मूल्य असुल्ने प्रवृत्तिबारे लामो समयदेखि गुनासो आइरहेको बताए। सोही आधारमा गरिएको छड्के अनुगमनमा व्यवसायीहरूले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको पुष्टि भएको उनको भनाइ छ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर वेणुकुमार कार्की तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदीलगायतको सहभागिता रहेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल ले विमानस्थल मात्र नभई उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्यभन्दा बढी रकम असुल्ने तथा कानुनविपरीत व्यापार गर्ने जोसुकै व्यवसायीमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने चेतावनी दिएका छन्।

उनले उपभोक्तालाई वस्तु खरिद गर्दा अंकित मूल्य, बिल तथा गुणस्तरबारे सचेत रहन आग्रह गर्दै तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाइए सम्बन्धित निकायमा उजुरी दिन समेत अनुरोध गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।