झापा। हल्दिबारी गाउँपालिकाले वडा नम्बर ४ र ५ मा पर्ने अधिकारीचोक बजारमा आकस्मिक बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा बिना इजाजत अवैध रूपमा सञ्चालन हुँदै आएको एक औषधी पसल सिल गरिएको छ भने कैफियत देखिएका अन्य १७ वटा पसललाई आवश्यक कागजात पूर्ण गर्न निर्देशन दिइएको छ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको संयोजकत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा प्रतिनिधिहरू सहभागी थिए। अनुगमन टोलीले बजार क्षेत्रमा रहेका कुल २० वटा पसलको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अधिकारीचोकस्थित वडा नम्बर ५ मा मोहमद नसिम आलमले सञ्चालन गरेको औषधी पसलमा सञ्चालन तथा उपचारसम्बन्धी आवश्यक आधिकारिक शैक्षिक र कानुनी प्रमाणपत्र नभेटिएपछि पसल सिल गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले जानकारी दिइन्। उनका अनुसार सञ्चालकलाई आगामी ११ गतेभित्र आवश्यक कागजातसहित गाउँपालिकामा उपस्थित हुन घटनास्थलमै निर्देशन दिइएको छ।
अनुगमन टोली पुग्दा बन्द रहेका पसलहरूमा कार्यालयमा उपस्थित हुन गाउँपालिकाको आधिकारिक सूचना टाँस गरिएको छ। यस्तै, कैफियत देखिएका अन्य १७ वटा पसललाई पनि यही ११ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’ले बताए।
अनुगमनका क्रममा पसलहरूको दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, मूल्य सूची, उपभोग्य मिति, गुणस्तर तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। टोलीले व्यवसायीहरूलाई कानुनी प्रक्रिया पूरा गरी उपभोक्ताको अधिकारको सम्मान गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
गाउँपालिकाले व्यवसायीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि अनुगमन गरिएको जनाएको छ। पालिकाले हल्दिबारी क्षेत्रका अन्य बजारहरूमा पनि क्रमशः अनुगमनलाई निरन्तरता दिने र निर्देशन तथा कानुनी प्रक्रिया पालना नगर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ।











