
हल्दीबारी, झापा । हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको दोस्रो वार्षिक साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वाको अध्यक्षतामा आयोजित कार्यक्रममा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाका मिलिजुली समूहका पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण, क्षमता विकास र सामाजिक सहभागिता अभिवृद्धिका लागि स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सम्मानित जीवनयापन गर्न सक्षम बनाउने कार्यक्रमहरूलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे।
विशिष्ट अतिथि वडा अध्यक्ष शुकलाल राजवंशीले संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सामाजिक समावेशीकरण र सशक्तीकरणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा गाउँपालिकाकी सहकारी शाखा प्रमुख कविता कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर, एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारी तथा झापा गाउँपालिकाका सिविआर एफओ प्रकाश गणेशले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक र आर्थिक रूपमा सबल बनाउन राज्य, स्थानीय तह, सहकारी तथा समुदायबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए।
साधारण सभामा संस्थाकी उपाध्यक्ष हरिमाया मिश्रले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षभर सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराएकी थिइन्। त्यसैगरी कोषाध्यक्ष दिलकुमार राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदनमाथिको छलफलका क्रममा सहभागीहरूले संस्थागत सुदृढीकरण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक–आर्थिक सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
हल्दीबारीका सिविआरएफ शिवु मुर्मु र बलराम बनको व्यवस्थापन रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद टुडुले गरेका थिए।





