२०८३ जेष्ठ २८ गते, बिहीबार
२०८३ जेष्ठ २८ गते, बिहीबार

दमकमा युवती रमा तिवारीको हत्या प्रकरणको सफल अनुसन्धान तथा आरोपी पक्राउमा उल्लेखनीय भूमिका निर्वाह गर्ने पाँच जना प्रहरी कर्मचारी नगदसहित पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र प्याक गरेर फालिएको अवस्थामा फेला परेको युवतीको शव सम्बन्धी घटनाको अनुसन्धानमा विशेष योगदान पुर्‍याएका प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरिएको हो।

पुरस्कृत हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक विपन विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी चौकी देउरी सुनसरीका प्रहरी सहायक हवल्दार वीरेन्द्र तामाङ तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी जवान सविन मगर रहेका छन्।

उनीहरूलाई क्रमशः रु १ हजार ५ सय, रु १ हजार ४ सय, रु १ हजार, रु ९ सय र रु ८ सय नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम घटनाको सफल अनुसन्धान, अभियुक्त पहिचान तथा पक्राउमा देखाएको सक्रियता र व्यावसायिक दक्षताको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस्ता पुरस्कारले प्रहरी संगठनभित्र कार्यसम्पादनमा थप उत्साह, जिम्मेवारीबोध तथा प्रभावकारिता अभिवृद्धि हुने विश्वास गरिएको छ।

गत जेठ १६ गते दमक नगरपालिका–५ बसन्ती टोल निवासी अन्दाजी २१ वर्षीया रोमा भनिने रमा तिवारी मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसिया गाउँ पञ्चायत स्थायी घर भई हाल दमक–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई कानुनी दायरामा ल्याउन प्रहरी टोली सफल भएको थियो।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले उपभोक्ताको हित संरक्षण र स्वस्थ बजार व्यवस्थापनका लागि सबै व्यवसायीले पसलमा मूल्य सूची र वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्नुपर्ने बताएका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूलाई कानुनी दायराभित्र रहेर पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

सीडीओ गेलालले उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्य जान्न पाउने अधिकार संविधान र कानुनले सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि बहानामा त्यसलाई सीमित गर्न नहुने स्पष्ट पारे।

‘खरिदकर्ताले वस्तुको अधिकतम मूल्य थाहा पाउनु उसको नैसर्गिक अधिकार हो। उपभोक्ताको अधिकार कुण्ठित हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन। त्यसैले सबै व्यवसायीले मूल्य सूची राख्ने र एमआरपीको पूर्ण पालना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ।’ — सीडीओ गेलाल

उनले वस्तुको मूल्य सार्वजनिक नगर्दा उपभोक्ता अन्यायमा पर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम रहने पनि बताए।

कार्यक्रममा मेची भन्सार कार्यालयका कर अधिकृत शिवलाल न्यौपाने र आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृत गजाधर खतिवडाले व्यवसायीहरूलाई कर प्रणाली, भन्सार प्रक्रिया र बिलिङको महत्त्वबारे विस्तृत जानकारी दिए।

मूल्य निर्धारण र बिक्री प्रक्रियामा पारदर्शिता कायम गर्न सकेमा उपभोक्ताको विश्वास बढ्नुका साथै व्यावसायिक वातावरण पनि सुदृढ हुने उनीहरूले बताए।

कार्यक्रममा सहभागी उद्योगी र व्यवसायीहरूले भन्सार र कर तिर्दा आउने जटिलता, बजार अनुगमनका क्रममा देखिने असमझदारी र व्यवसाय सञ्चालनका व्यावहारिक समस्याबारे आफ्ना जिज्ञासा र गुनासा राखे। उनीहरूले सरकारी निकायबाट थप सहजीकरण र स्पष्ट मार्गदर्शनको आवश्यकता औँल्याए।

विशिष्ट अतिथिका रूपमा उपस्थित इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बजारको सुरक्षा र उपभोक्ता हित संरक्षणमा प्रहरी प्रशासन सधैँ सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जीवन खड्काले स्वागत मन्तव्य राखे भने महासचिव कुशल खतिवडाले कार्यक्रम सञ्चालन गरे।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य निर्मल भट्टराई, पूर्व अध्यक्षहरू वेदप्रकाश अग्रवाल, राजेन्द्रकुमार थापा र कुमार भट्टराई, महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुँडाल हुमागाईँ, झापा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीलगायत बिर्तामोड क्षेत्रका उद्योगी–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले उपभोक्ता अधिकार संरक्षण र व्यावसायिक पारदर्शिताबारे यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किचकबधस्थलमा पुरातत्त्व विभागको टोलीले नवौँ चरणको उत्खनन कार्य सुरु गरेको छ।

पुरातत्त्वविद् उद्धव आचार्यको नेतृत्वमा आएको दुई सदस्यीय विभागीय टोलीले जेठ ८ गतेदेखि स्थानीयको सहयोगमा उत्खनन थालेको हो। जेठ महिनाभित्रै यस चरणको उत्खनन सम्पन्न हुने आचार्यले जानकारी दिए।

किंवदन्तीअनुसार यो स्थान महाभारतकालीन राजा विराटका ‘सालो’ किचकको दरबार रहेको विश्वास गरिन्छ। पाँच पाण्डव अज्ञातवासमा रहेका बेला द्रौपदीमाथि कुदृष्टि राखेकोमा भीमसेनले विराटनगरबाट लखेटी किचकलाई यही स्थानमा ल्याएर बध गरेका थिए। त्यही ऐतिहासिक घटनाका कारण यस स्थानलाई ‘किचकबधस्थल’ भन्न थालिएको स्थानीयवासी बताउँछन्।

पुरातत्त्व विभागले यस स्थानमा विसं २०५८ देखि आचार्यकै नेतृत्वमा निरन्तर उत्खनन गर्दै आएको छ। यसपटक विगतमा उत्खनन गर्न बाँकी रहेका क्षेत्रमा काम थालिएको उनले बताए।

विगतका उत्खननबाट यस स्थानमा करिब २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितका भौतिक संरचना फेला परेका थिए। त्यस बेला मानव प्रयोगका भाला, बाण र माटाका भाँडावर्तनसमेत भेटिएपछि विभागले तिनको संरक्षण गर्दै आएको छ।

दश बिघा क्षेत्रफलमा फैलिएको किचकबधस्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व अत्यन्त उच्च भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त बजेट भने विनियोजन हुन सकेको छैन। थोरै बजेटका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको पुरातत्त्वविद् आचार्यले बताए।

थप चिन्ताको विषय के छ भने, पछिल्लो समय उक्त स्थानमा मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना निर्माण हुँदै गएकाले प्राचीन महत्त्वका संरचना र वस्तुहरू नष्ट हुने उच्च जोखिम देखिएको छ।

विज्ञहरूका अनुसार समयमै पर्याप्त लगानी र कडा संरक्षण नीति नआउँदासम्म यो अमूल्य पुरातात्त्विक सम्पदा लोप हुने खतरा बढ्दै जानेछ।

झापा । झापाको दमक नगरपालिका कार्यालयकै अगाडि प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक युवा प्रहरीको नियन्त्रणमा परेका छन्।
 
इलाका प्रहरी कार्यालय दमकले सोमबार दमक नगरपालिका–६ स्थित नगरपालिकाको मुख्य कार्यालय परिसर अगाडि गोप्य सूचनाको आधारमा अभियान सञ्चालन गरी उक्त युवालाई नियन्त्रणमा लिएको हो।
 
पक्राउ परेका युवाको परिचय पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्बाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 
दमक नगरपालिकाको कार्यालय परिसरमा खुलेआम लागुऔषध किनबेच भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट एक प्रहरी टोली खटाइएको थियो। सोमबार उक्त स्थानमा शंकास्पद अवस्थामा हिँडिरहेका नेम्बाङलाई प्रहरीले रोकी तलासी लिएको थियो। तलासीका क्रममा नेम्बाङले लगाएको पाइन्टको बायाँ खल्तीभित्र प्लास्टिकमा सावधानीपूर्वक पोका पारी लुकाइराखेको अवस्थामा ४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
 
बरामद लागुऔषधसहित नेम्बाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सरकारी कार्यालयकै अगाडि लागुऔषध कारोबार हुनु गम्भीर विषय भएकाले प्रहरीले यस घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताइएको छ।

झापा । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि झापा जिल्लाका १५ वटा स्थानीय तहमा विनियोजन गर्ने संघीय बजेटको आधिकारिक विवरण सार्वजनिक गरेको छ। जनसंख्या, भूगोल र स्थानीय आवश्यकतालाई आधार मानी तय गरिएको यस बजेटमा मेचीनगर नगरपालिकाले जिल्लाकै सबैभन्दा बढी रकम प्राप्त गरेको छ।

सरकारले वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका चार माध्यमबाट यो बजेट स्थानीय तहमा पठाउने व्यवस्था मिलाएको छ।

■ जिल्लाको बजेट विवरण : कसले कति पायो ?

नगरपालिकाहरू :
मेचीनगर नगरपालिका — ८४ करोड ८४ लाख
शिवसताक्षी नगरपालिका — ६३ करोड १४ लाख
दमक नगरपालिका — ५८ करोड ८६ लाख
बिर्तामोड नगरपालिका — ५७ करोड ८८ लाख
अर्जुनधारा नगरपालिका — ५३ करोड १८ लाख
गौरादह नगरपालिका — ५२ करोड ४ लाख
भद्रपुर नगरपालिका — ५० करोड ८५ लाख
कन्काई नगरपालिका — ३६ करोड ४० लाख

गाउँपालिकाहरू :
कमल गाउँपालिका — ४४ करोड
कचनकबल गाउँपालिका — ४२ करोड ७ लाख
बुद्धशान्ति गाउँपालिका — ३८ करोड ५१ लाख
गौरीगञ्ज गाउँपालिका — ३७ करोड १२ लाख
झापा गाउँपालिका — ३५ करोड ८५ लाख
बाह्रदशी गाउँपालिका — ३३ करोड ३४ लाख
हल्दीबारी गाउँपालिका — ३२ करोड ५ लाख

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका मेचीनगरले ८४ करोड ८४ लाख रुपैयाँसहित शीर्षस्थान कायम राखेको छ। यसपछि शिवसताक्षी, दमक र बिर्तामोडले क्रमशः ६३, ५८ र ५७ करोडभन्दा बढी बजेट पाएका छन्।

अर्कोतर्फ, यस पटक पनि विगतका वर्षहरू जस्तै हल्दीबारी गाउँपालिकाको भागमा जिल्लाकै सबैभन्दा कम ३२ करोड ५ लाख रुपैयाँ मात्र परेको छ।

बजेट सानो, सुशासन उत्कृष्ट — हल्दीबारीको उदाहरण

बजेटको अंकमा जिल्लाको पुछारमा देखिए पनि हल्दीबारी गाउँपालिका आर्थिक पारदर्शिता, दिगो विकास र सुशासनका मामिलामा भने झापाकै अग्रपंक्तिमा छ। सीमित स्रोत र साधनको अधिकतम र पारदर्शी सदुपयोग गर्दै योजनाबद्ध विकास गर्न सफल हल्दीबारीले जिल्लाका ठूला पालिकाहरूलाई समेत उदाहरणीय पाठ सिकाएको स्थानीय सरोकारवालाहरू बताउँछन्।

यो तथ्यले प्रमाणित गर्छ कि बजेटको आकार मात्रै विकासको मापदण्ड हुँदैन, बरु त्यसको सदुपयोग र सुशासन नै वास्तविक सफलताको आधार हो।

प्राप्त बजेटको परिधिभित्र रहेर झापाका सबै पालिकाहरूले आगामी नगर तथा गाउँ सभामार्फत आफ्ना नीति, कार्यक्रम र स्थानीय बजेट पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।